वालिङ (स्याङ्जा)– यहाँका एक किसानले दसँैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् ।


ADVERTISEMENT


उनले दसैँ तथा तिहारका अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


भण्डारीले फूलका थुङ्गा प्रतिकेजी रु दुई सय ५० देखि तीन सय र माला प्रतिगोटा रु एक सय ५० सम्म बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले जनाए ।

“माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उनले भने, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले जनाए । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए ।

पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन् ।“फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भने, “अब उत्पादन हुनेमध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।”

दसैँ तिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै रु पाँच लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरुपमा फूलखेती थालेका हुन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरुपमा फूल खेती गरेका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको ब्यावसायिक उत्पादन थालेका हुन् ।

“विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उनी भन्छन्, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पकोरुपमा फूल खेती थालेका हौंँ ।” दसैँ तिहारलाई लक्षित गरेर दुई हजार बिरुवा सयपत्री फूल रोपका थिए ।

स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका भण्डारीले विकल्पको रुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपु¥याएकाले आगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको ब्यावसायिक उत्पादन गर्ने तयारीमा रहेका छन् ।