काठमाडौँ– आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार थाइल्याण्डलाई हराएको नेपालले बिहीबार कुवेतलाई १०८रनले पाखा लगाएको हो ।


ADVERTISEMENT


दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनायो । १३१ रनको विशाल चुनौती पच्छयाउँदै मैदान उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कुवेतका ६ ब्याटर खाता पनि नखोल्दै आउट भए । बलिङतर्फ नेपालकी रचना कुमारी चौधरी र सीमा केसीले समान २–२ विकेट लिए भने कप्तान पूजा महतो, करिष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले समान १–१ विकेट हात पारे । ३ विकेट नेपालले रनआउटका रुपमा पायो ।

यसअघि ब्याटिङतर्फ नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । त्यसक्रममा उनले ३८ बलमा ४ चौका प्रहार गरिन् । यस्तै साना प्रविनले २५ तथा ज्योत्सिना मनासिनीले २३ रन र अलिशा कुमारी यादवले १५ रनको योगदान दिइन् ।

बलिङतर्फ आयशा इक्वाल पेवेकरले सर्वाधिक २ विकेट लिइन् भने कप्तान जिफा जिलानी र अमिषा राम ओमाचेलारीले समान १–१ विकेट लिए । ४ विकेट नेपालले रनआउटका रुपमा गुमायो ।

नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।

लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।