काठमाडौँ – युएईमा जारी आईसीसी यू–१९ महिला विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले आज थाइल्याण्डविरुद्ध खेल्दैछ । दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
खेल नेपाली समय अनुसार अपराह्न ३ः१५ बजे सुरु हुँदैछ । नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा पनि कुवेतलाई भारी अन्तरले हराएको नेपाल तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित हुन पुगेको थियो ।
आज पनि जित निकाल्दै नेपाल विश्वकपमा पुग्ने सम्भावनालाई जीवितै राख्न चाहन्छ । नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् ।
नेपाल ३ खेलमा २ जितसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यता युएइई भने ३ खेलमा ३ जितसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलमा १ जित हात पारेर २ अंक बटुल्दै तेस्रो स्थामा छ । कुवेतले भने तीन वटै खेल हारेको छ ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।