काठमाडौँ – अफगानस्तानका स्टार खेलाडी तथा विश्वका नम्बर एक अलराउण्डर मोहम्मद नाबीले आगामी फेब्रुअरीदेखि पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने योजना सुनाएका छन् ।
करिब ४० वर्ष पुग्न लागेका नाबीले युएईमा बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको अन्त्यमा अफगानिस्तानको प्लेयर अफ द सिरिजको उपाधि ग्रहण गर्दै आफ्नो योजना खुलासा गरेका हुन्। अफगानिस्तानले उक्त शृंखला २–१ ले जितेको छ ।
अफगानिस्तानका पूर्वकप्तान समेत रहेका उनले भने, ‘मैँले गत विश्वकपबाट नै एकदिवसीय क्रिकेटबाट म सन्यास लिएको थिएँ तर त्यसपछि हामी च्याम्पियन्स ट्रफीका लागि छनोट भयौं र मलाई लाग्यो कि यदि म यो खेल्न सक्छु भने यो राम्रो हुनेछ ।’
उनले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) लाई यो निर्णय जानकारी गराएको बुझिएको छ । यद्दपि टी–२० खेल्न जारी राख्ने बताएका छन् । उनले मिडिया टोलीलाई भने ‘हेरौँ, तर म धेरै समय खेल्ने छैन। ईश्वरले चाहनुभयो भने च्याम्पियन्स ट्रफी पछि, म एकदिवसीयलाई अलविदा गर्नेछु ।’
कूल १६७ वटा एकदिवसीय खेल खेलेका नाबी अफगानिस्तानबाट सबैभन्दा धेरै एकदिवसीय खेल खेल्ने खेलाडी समेत हुन् । सन् २००९ मा अफगानिस्तानको पहिलो एकदिवसीय खेलमा नै डेब्यू गरेका उनले यस फम्र्याटमा ३ हजार ६ सय रन बनाएका छन् भने १७२ विकेट लिएका छन् ।
नाबीले टेस्ट क्रिकेटबाट भने सन् २०१९ मै सन्यास लिइसकेका छन् । नाबीकै कप्तानीमा अफगानिस्तानले सन् २०१४ को टी–२० विश्वकप र सन् २०१५ को एकदिवसीय विश्वकप, सन् २०२१ र २०२२ को टी–२० विश्वकप खेलेको थियो ।