काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक विकासलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, विद्यालय तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत २६ वटा ह्वीलचेयर वितरण गरेको जनाएको छ।
यसअन्तर्गत सल्यान जिल्ला अस्पताललाई १० वटा, त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ वटा, मोरङको रंगेली अस्पताललाई १० वटा तथा ओमसतिया गाउँपालिका–१ मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकतामा रहेका व्यक्तिका लागि ३ वटा ह्वीलचेयर उपलब्ध गराइएको छ।
यस्तै, पथरी नगर अस्पताललाई ३ सिटे कुर्सी ४ वटा, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर तथा सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा आरओआई वाटर प्युरिफायर हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नारालाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक समावेशितालाई प्राथमिकतामा राखी यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि समुदायको दिगो विकास, जनकल्याण तथा सामाजिक उत्थानमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।




























































