कोशी – कोशी प्रदेशको दुईदलीय संयन्त्रले एक हप्ता भित्र प्रदेशका सबै जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशको दुईदलीय संयन्त्रले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जनमुखी निणय र सुशासन प्रदान गर्न जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने निणर्य गरेको जनाएको हो ।
एमाले र नेपाली कांग्रेसबीच संविधान संसोधन र आर्थिक सुधारको मुख्य एजेण्डा सहित केन्द्र र प्रदेशमा सरकार गठन भएपछि सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन दुई दलिय संयन्त्र गठन गर्ने निर्णय भएसंगै कोशीमा पनि ६ सदस्यीय दुई दलीय संयन्त्र गठन गरिएको हो ।
कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझाव दिएर प्रदेशको आवश्यकता र औचित्यता पुष्टि गर्ने तथा अराजकता र भ्रष्टाचार अन्त्य गर्न संयन्त्रले काम गर्ने बताए । उनले कोशी प्रदेश संयन्त्रको पहिलो बैठकले मंसिर २९ गते विराटनगरमा जिल्ला संयन्त्रका सदस्यहरुको बैठक गर्ने निर्र्णय गरेको उनले जनाए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशीका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेश तथा प्रदेश भित्र रहेका स्थानीय सरकारहरुलाई प्रभावकारी र जवाफदेही बनाउदै गठबन्धनलाई मजबुत बनाउने गरी अघि बढ्ने बताए ।
त्यस्तै कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले संयन्त्रको सल्लाह सुझाव अनुसार प्रदेशको औचित्यता पुष्टि गर्ने गरी प्रदेश सरकारले आफ्नो काम कारवाहीलाई अघि बढाउने सुनाए ।
संयन्त्रमा एमालेका तर्फबाट एमाले कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कुमार कार्र्की र एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा रहनुभएको छ भने कांग्रेसबाट कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश महामन्त्री भुपेन्द्र राई र महामन्त्री उमेश थापा रहेका छन् ।



























































