काठमाडौँ– नेपाल–भारतको आठौँ महानिर्देशकस्तरीय सीमा सुरक्षा बैठकमा गैरकानुनी घुसपैठ र अवैध प्रवेश रोक्ने प्रस्तावको विषयमा छलफल भएको छ ।
शनिबार सुरु भएको नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा दुवै पक्षबीच सीमा सुरक्षामा थप समन्वय गर्ने विविध विषयमा छलफल भएको हो ।
गैरकानुनी घुसपैठ राष्ट्रिय सुरक्षाकै लागि चुनौती बन्न सक्ने जनाउँदै स्थलमार्गबाट तेस्रो देशका नागरिकको आवागमनलाई कडाइका साथ नियमन गरिदिन नेपालका सुरक्षा अधिकारीले भारतीय पक्षसँग आग्रह गरेका छन् ।
बैठकमा साझा एजेन्डाका रूपमा तय भएका ११ वटा बुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालले प्रस्तुत गरेका थिए । त्यस क्रममा नेपाल पक्षले दुई देशका नागरिकको आउजाउमा सहजीकरण र तेस्रो देशका मानिसको नियमनका लागि छुट्टै ‘टुरिस्ट डेस्क’ राख्नुपर्ने प्रस्ताव पनि प्राथमिकतासाथ उठाएको थियो ।
“सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, त्यसनिम्ति सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, मानव बेचबिखन र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायत विषय नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत भएको छ । भोलि एउटा निष्कर्षका साथ बैठक समापन हुनेछ”, उनले भने ।
बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी छ ।
बैठकमा भारतीय पक्षबाट तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको र त्यसका लागि संयुक्त डेस्क स्थापना गर्न सुझाव आएको छ ।
भुटान, बङ्गलादेश म्यानमार, अफगानिस्तानलगायत देशबाट भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने प्रवृत्ति बढेकाले भारतले त्यस्तो प्रस्ताव गरेको हो ।
सो अवसरमा गृहमन्त्री रमेश लेखकले भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसंग भेटवार्ता समेत गरेका छन् ।






























































