काठमाडौँ – कर्णालीमा बस्ने सिटिजन्स बैँकका ग्राहकले अब ‘हाम्रो कर्णाली बचत खाता’मार्फत अद्वित्तीय सुविधाहरु पाउने भएका छन् । बैँकले हालै ल्याएको उक्त योजना अन्तर्गत दुई दर्जन भन्दा बढी विशेषता रहेका छन्, जसले साधारण ग्राहकले प्राप्त गर्ने भन्दा शानदार फाइदा हासिल गर्नेछन् ।
बैँकले ‘हाम्रो कर्णाली बचत खाता’ नाम दिएको उक्त योजनामा सहभागी हुन कर्णाली प्रदेशमा बसोबास गर्नुपर्ने छ वा कर्णाली प्रदेशभित्रका सिटिजन्स बैँकका शाखामा खाता खोलेको हुनुपर्ने छ ।
दुई दर्जन बढी सुविधा
उक्त फाइदाजनक योजनामा सहभागी हुन ग्राहकले आफ्नो खातामा न्यूनतम १० हजार रुपैयाँ भने जम्मा गरेको हुनुपर्ने बैँकका निक्षेप मार्केटिङ प्रमुख प्रकाश विक्रम थापाले बताए । उनका अनुसार यस्तो खाता खोल्ने ग्राहकले एक वर्षका लागि निःशुल्क इन्टरनेट बैँकिङ सुविधा प्राप्त गर्नेछन् ।
यस्तै निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैँकिङको सुविधा समेत प्राप्त गर्नेछन् । यी सुविधाहरु एक वर्षसम्म निःशुल्क पाइने थापाले जानकारी दिए । यस्तै खाता खोल्ने बित्तिकै ग्राहकले निःशुल्क एकाउन्ट स्टेटमेन्ट र चेकबुक समेत निःशुल्क प्राप्त गर्नेछन् । यस्तै निःशुल्क चेकमार्फतको भुक्तानी रद्द गर्ने सुविधा समेत निःशुल्क नै पाइने छ ।
बैँकका निक्षेप मार्केटिङ प्रमुख थापाका अनुसार शेयर बजारमा जान इच्छुक र शेयर बजारमा प्रवेश गरिसकेकाहरुका लागि पनि बैँकले यस खाता योजनामा विशेष अफर समावेश गरेको छ । ‘हाम्रो कर्णाली बचत खाता’ खोल्ने ग्राहकले निःशुल्क डिम्याट खाता खोल्न पाउने छन् ।
यस्तै ग्राहकले लकर शुल्कमा एक वर्षसम्मका लागि ५० प्रतिशतको छुट प्राप्त गर्नेछन् भने इ-कमर्स लिँदा ५० प्रतिशतको छुट प्राप्त गर्नेछन् । यस्तै क्रेडिट कार्ड लिँदा त्यसको शुल्कमा ५० प्रतिशत छुट मिल्ने बैँकले जनाएको छ ।
यस्तै बैँकका अनुसार ग्राहकले आफ्नो हाम्रो कर्णाली बचत खाता राखेको निक्षेपको वार्षिक सर्वाधिक ५.१० प्रतिशत ब्याज समेत प्राप्त गर्नेछन् । ग्राहकले कर्णाली प्रदेशमा रहेका सिटिजन्स बैँकका शाखामा गएर खाता खोल्न सक्ने बैकले जनाएको छ ।


























































