काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सधैँ समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT


अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन कांग्रेस सदैव प्रतिबद्ध रहेको बताए ।


ADVERTISEMENT

# # #


सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उहाँका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरे। ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने उनले उल्लेख गरे।

सभापति देउवाले समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्व भएको जनाए ।

“अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारका धारकको रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सक्षमतामा भरपूर विश्वास राख्नुपर्छ”, सभापति देउवाले भनेका छन्, “यस अवसरमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवाला बीच एकता र सहकार्यको खाँचो छ ।”

उनले कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानुनी, सामाजिक र संरचनागत सुधारमा निरन्तर योगदान गर्दै आइरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाउने उल्लेख गरे ।

अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र समावेशीतालाई समाजको मुख्य प्रवाहमा समेट्दै दिगो र समतामूलक विकासका लागि सहकार्य गर्न कांग्रेस सबैसँग आग्रह गर्ने उनको भनाइ छ ।