काठमाडौँ – नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।
मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देललाई बिहीबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।
प्रधान सेनापति सिग्देलले आजै भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन् । यस्तै उनले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
प्रधान सेनापति सिग्देल मंगलबार भारत प्रस्थान गरेका थिए । उनी मंसिर ३० गते स्वदेश फर्किनेछन् ।