काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरेको सोमबारको प्रदेशसभा बैठक नै बस्न सकेन। सत्तारुढ गठबन्धनभित्रको विवाद, राप्रपाको दोहोरो धार र सांसदहरूको असन्तुष्टिका कारण विश्वासको मत लिन बोलाइएको बैठक मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ।


ADVERTISEMENT


१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर मुख्यमन्त्री थापालाई समर्थन गर्ने एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्रै छन्। त्यसैले राप्रपाको समर्थन उनको सरकारका लागि निर्णायक बनेको छ।


ADVERTISEMENT

# # #


तर सरकार गठनमा निर्णायक बनेको राप्रपाभित्रै मुख्यमन्त्री थापालाई समर्थन गर्ने विषयमा विवाद चर्किएको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आफ्ना सांसदलाई थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन्। यद्यपि सरकारमा सहभागी राप्रपा पक्षले उक्त ह्वीपको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ।

यता नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ। कांग्रेसले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

नेकपाले भने आफ्ना २६ सांसदलाई थापाको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। तर सरकारमा मन्त्री पठाउने विषयलाई लिएर नेकपाभित्रै असन्तुष्टि रहेको बताइएको छ। त्यसैले ह्वीप जारी भए पनि मतदानका दिन सबै सांसद एकै ठाउँमा उभिन्छन् कि उभिँदैनन् भन्ने प्रश्न कायमै छ।

विश्वासको मत लिन बोलाइएको बैठक नै बस्न नसक्नुले बागमतीको सत्ता समीकरणमा संकट गहिरिएको संकेत गरेको छ। बैठक पटक–पटक सर्नुले सत्ता गठबन्धनभित्र सांसद व्यवस्थापन र समर्थन जुटाउने प्रयास भइरहेको देखिन्छ।

मुख्यमन्त्री थापाका लागि अब चुनौती विपक्षीको विरोध मात्रै होइन, आफ्नै गठबन्धनभित्रको अविश्वास व्यवस्थापन गर्नु पनि बनेको छ। सरकार बनाउन निर्णायक बनेको राप्रपामै विभाजन देखिएपछि थापा सरकारको भविष्य थप अनिश्चित बनेको हो।

अब सबैको नजर मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा छ। त्यहाँ मुख्यमन्त्री थापाले आवश्यक ५३ मत जुटाउन सक्छन् कि सक्दैनन् भन्ने टुंगो लाग्नेछ।

बागमतीमा अहिले सरकार बनिसकेको छ, तर सरकार टिकाउने ‘विश्वास’ भने अझै जुटिसकेको छैन। आज सदन बस्न नसकेको घटनाले भोलिको विश्वासको मतलाई झन् निर्णायक र रोचक बनाएको छ।