काठमाडौं – पर्यटन क्षेत्रका सरोकारवालाहरूले ‘पर्यटन विधेयक, २०८१’ मा आरोहीको बीमा, सुरक्षा तथा ‘फेक रेस्क्यु’ नियन्त्रणलगायतका विषय समेट्न सुझाव दिएका छन्।


ADVERTISEMENT


सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पर्यटन क्षेत्रको समग्र विकास र व्यवस्थापनका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।


ADVERTISEMENT

# # #


नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्जेन शेर्पाले संघमा दुई हजार दुई सय ६० जना आरोही, मजदुर तथा पर्यटन प्रवर्द्धनमा संलग्न व्यक्ति आबद्ध रहेको जानकारी दिए। उनले पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान हुने गरी विधेयकलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले नेपालमा वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेको बताए। उनका अनुसार पदयात्रा क्षेत्रले तीन लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ। उनले पदयात्रा क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्न सुझाव दिए।

सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले आरोहीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आरोही कोष स्थापना गर्नुपर्ने सुझाव दिइन्।

बैठकमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, एक्सपिडिसन अपरेटरर्स एसोसिएसन नेपाललगायत पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले पनि विधेयकमाथि सुझाव दिएका थिए।

सरोकारवालाहरूले पर्यटन क्षेत्रको विकाससँगै आरोही तथा पर्यटकको सुरक्षा, उद्धार प्रणालीलाई व्यवस्थित बनाउने र गलत उद्धार गतिविधि नियन्त्रण गर्ने विषयलाई पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्नेमा जोड दिएका छन्।

समितिको बैठक सभापति सुमिना उदासको सभापतित्वमा बसेको हो।