काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भएको छ ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा बसेको बैठकमा उक्त विधेयकमाथि संशोधनकर्तासँग छलफल गरेपछि दफावार छलफल भएको हो । छलफलका क्रममा सांसदहरुले चल, अचल र अमूर्त सम्पत्तिलाई समेत धितो सम्पतीको रुपमा राख्ने व्यवस्थालाई विधेयकमा स्पष्टताका साथ उल्लेख गर्नुपर्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा सांसद बर्षमान पुनले शैक्षिक प्रमाणपत्रका आधार बैंकबाट ऋण लिन सक्ने व्यवस्थामाथि थप छलफल गर्नुपर्ने बताए । उनले समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नै रहेकाले सवै विधेयकमा राख्न आवश्यक नरहेको धारणा राखे ।

त्यस्तै सांसद डा प्रकाशशरण महतले शैक्षिक प्रमाणपत्रका आधार बैंकले ऋण दिने व्यवस्था कानूनमा नै उल्लेख गर्नु उचित नभएको बताए । त्यस्तै सांसद पदम गिरिले शैक्षिक प्रमाणपत्र र सीपको प्रमाणपत्रलाई चल सम्पतीको रुपमा व्याख्या गर्ने प्रस्ताव राम्रो भएपनि कानुनमा नै त्यस्तो व्यवस्था भएपछि ऋण असुल नहुने अवस्थामा थप कठिनाइ आउन सक्ने जिकिर गरे ।

उक्त विधेयकमा ६ जना सांसदको संशोधन प्रस्ताव परेको थियो । अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते उक्त विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । विधेयकले घर, जग्गाबाहेक अन्य चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने गरी व्यवस्था गरेको छ ।