भक्तपुर– भक्तपुरमा बाबुछोरा मृत भेटिएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका हुन् ।
मृत भेटिनेमा खोटाङको रूपाकोट मजुवागढी नगरपालिका– १ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं,’ न्यौपानेले भने । उनका अनुसार, दुबै कोठामा बाहिरबाट ताला लगाइएको थियो ।
मृत भेटिएका कुलप्रसाद भने हुलाकका कर्मचारी रहेको खुलेको छ । उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार बाबु खोटाङबाट केही दिनअघि हुलाक विभागमा काम परेको भन्दै काठमाडौं आएका थिए ।
उनका दुई छोरा मिलन र प्रविण विगत तीन वर्षदेखि दुई वटा कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । उनीहरू अध्ययनररत थिए । यद्यपि घटनापछि भने अहिले जेठा छोरा सम्पर्कबिहीन छन् ।
मृतकका शरीरमा धारिलो हतियार प्रहार भएकाले हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




























































