काठमाडौँ– उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् ।
बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले नागरिकको बचतमा बदमासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने समेत जनाए । मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको उनले जानकारी दिए ।
उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे । रास्वपाकै सदस्य सहभागी संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उनले सुनाए । वर्तमान सरकार उद्देश्य अनुसार नै अघि बढिरहेकाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने उनको राय छ ।
चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन पुगेका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थिक गतिविधि बढाउनेमा जोड दिए ।


























































