काठमाडौँ – खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको कानुन नमान्ने खेलकुद संघलाई केही दिनभित्रै कारवाही गर्ने स्पष्ट पारेका छन् ।
कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले केही खेलकुद संघ ऐन कानुन विपरित अघि बढिरहेको भन्दै छिटै कारवाही गर्ने बताएका हुन् ।
उनले अहिले खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको बताए । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थीत गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेको उनले बताए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरुलाई पत्रचार गरेपनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको जिकिर गरे । केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न आग्रह गरे ।
मन्त्री चौधरीले नेपालको खेलकुद पूर्वाधारका लागि प्रयाप्त बजेट नभएकाले आगामी वर्ष बजेट बढाउने गरी पहल गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।