काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ-नयाँ कीर्तिमान कायम गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष समेत रहेका ओलीले प्रभाव पार्न नभइ नजिता निकाल्नमा ध्यान केन्द्रीत गर्नुपर्ने र नयाँ नयाँ कीर्तिमान कायम गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । साँचो र यथार्थपरक जीवनयापन गर्न सुझाव दिदै ओलीले भगवान बन्ने कोसिस नगर्न र असल मान्छे बन्न आग्रह गरे ।
उनले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताए । ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको जिकिर गरे ।
“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरुको एमालेमा आउने छनोट सही छ । तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।”
कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा प्रवेश गरे ।
कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।