काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन् ।
आईतबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा विपदबाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढउने विषयमा छलफल भएको उनले बताए ।
बैठकमा डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मुल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनर्निमाणको काम अगाडि बढाउने निर्णय भएको मन्त्री लेखकले जानकारी दिए । उनले विपद क्षतिको मुल्यांकन भइसकेको ठाउँमा पुनर्निमाण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि मापदण्ड केही समयअघि पारित भइसकेको बताउदै आगामी माग तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद क्षतिको मूल्यांकन कार्य सुरु हुने पनि जानकारी गराए ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले गरेका निर्णयहरु प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बस्ने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा पेश गर्ने मन्त्री लेखकले बताए।