काठमाडौँ– मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ्ग अस्पतालमा ‘अत्याधुनिक लेभल–३’ आईसीयूको उद्घाटन गरिएको छ । आज एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो आईसीयूको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले समस्त स्वास्थ्य सेवा उत्थानका लागि निजी क्षेत्रका अस्पतालको योगदान रहेको बताए । स्वास्थ्य प्रत्येक नागरिकको अधिकार रहेकाले त्यसको सम्पूर्ण दायित्व राज्यले बहन गर्नुपर्नेमा उनले जोड दिए ।


ADVERTISEMENT

# # #


‘बहन कसरी गर्ने भन्ने कुरा चाहिँ राज्यको पोलिसीमा निर्भर रहन्छ । राज्यले सबै संस्थाहरु आफैँले लिएर गराउन सक्छ । अथवा निजी क्षेत्रमा इस्टिट्युसन बनाउन लगाएर त्यसमार्फत नागरिकलाई सेवा उपलब्ध पनि गराउन सकिन्छ’, मन्त्री पौडेलले भने ।

सरकारी तथा निजी दुवै अस्पतालको ध्येय नागरिकलाई स्वास्थ्य सेवा दिनु रहेकाले सरकारले यी दुवै क्षेत्रका लगानी व्यवस्थित गररे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कोशिस गरिरहेको उनको भनाई छ । स्वास्थ्य भन्नेबित्तिकै गुणस्तरीय नै हुनुपर्ने जनाउदैँ उनले अस्पतालले दिने भनेको १० प्रतिशत छुट व्यवहारिक रुपमा पनि लागू गर्न अस्पताललाई आग्रह गरे ।

यसैगरी, अस्पतालका अध्यक्ष आरएस भण्डारीले भक्तपुरमा सुविधा सम्पन्न अस्पताल नभएको स्थितीलाई मध्यनजर गर्दै समयमै उचित अस्पताल पुग्न नपाएर बिरामीले अकालमै ज्यान गुमाउनु परेको दुःखद अवस्थाको अन्त्यका लागि अस्पतालमा आईसियु लेभल ३ को सेवा थपिएको जनाए । त्यस्तै, थप सुविधाजन्य उपकरणका लागि आवश्यकता अनुरुप हेलिप्याडसहितको अस्पतालको नयाँ अत्याधुनिक भवन निर्माणका लागि नक्सा पास भइसकेको समेत उनले जानकारी गराए ।

अस्पतालका मेडिकल डिरेक्टर डा. कुन्दनसिंह कार्कीले अस्पतालमा सिटी एनजीओग्राफी तथा सिटी मेशिनजस्ता अत्याधुनिक सुविधाको लागि पहल गरिरहेको जनाए । उनले भने, ‘यसैगरि यो अस्पताल जिल्लामै पहिलो इन्डोस्कोपी सेवा दिने पहिलो र सर्वाेत्कृष्ट अस्पताल बन्न पुगेको छ ।’

आईसियु लेभल–३ को चर्चा गर्दे फोक्सोरोग तथा सघन उपचार विशेषज्ञ डा.अर्जुन कार्कीले आईसियुसम्बन्धि जनमानसमा व्याप्त भ्रम रहेको बताए । ‘आईसियु भन्ने बित्तिकै अन्तिम अवस्थाको सम्भावना नै नभएको बिरामी राख्ने ठाउँ नभएर जटिल किसिमका बिरामीको ज्यान बचाउनका लागि दिइने उपचार सेवा हो ।’ आईसियुमा दक्ष जनशक्ति, प्रविधि तथा उपकरण रहने भएकाले पनि अन्य सामान्य सेवाको तुलनामा यो बढी खर्चिलो हुने उनको भनाई छ ।

यसैगरि, मध्यपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठले अस्पतालमा आईसियु सेवा थपिएसंगै अबका दिनमा मध्यपुरवासीलाई मात्रनभई पूर्व राजमार्ग हुँदै आउने सबै बिरामीले सघन उपचारकै लागि अन्य जिल्ला धाउनुपर्ने बाध्यता हटेको बताए । यसका साथै निजी अस्पतालले कानुनले सुनिश्चित गरेको सेवा दिनुपर्नेमा समेत उनले जोड दिए ।

ह्याम्स अस्पतालको सफलता र गुणस्तरीयता सँगसँगै अध्यक्ष भण्डारीको नेतृत्वमा ‘नागरिकका लागि नागरिक’को मन्त्रका साथ अत्याधुनिक सुविधासम्पन्न नागरिक कम्युनिटी टिचिङ अस्पताल स्तरोन्नतीयसहित सञ्चालनमा आएको हो ।