काठमाडौं – नेपालमै पहिलोपटक आयोजना हुन लागेको नेपाल बास्केटबल लिग एनबीएलले आईएमई खल्ती लिमिटेडलाई आफ्नो आधिकारिक टिकटिङ पार्टनर नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतापत्रमा नेपाल बास्केटबल लिगका प्रमुख कार्यकारी अधिकृत सीईओ डा.सन्तोष उपाध्याय र आईएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रविण रेग्मीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा एनबीएलका सीओओ विकास खेतान तथा खल्तीका सीओओ पुष्पराज न्यौपानेको पनि उपस्थिति रहेको थियो।
सम्झौताअनुसार एनबीएलका खेलहरूको टिकट आईएमई खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ। साथै, प्रतियोगिता स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल प्रवेशद्वारमा रहने काउन्टरबाट पनि भौतिक रूपमा टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ। टिकट दर भने छिट्टै सार्वजनिक गरिनेछ।
विश्व बास्केटबल दिवसको अवसरमा भएको सम्झौतासँगै आयोजकले सबैलाई शुभकामना व्यक्त गरेको छ।



























































