झापा- गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाकाको निरीक्षणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित ११ जना सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको तथा तस्करीमा संलग्नताको आरोपमा छानबिन सुरु भएको भन्ने समाचार भ्रामक र निराधार रहेको बताइएको छ।
आधिकारिक स्रोतका अनुसार निरीक्षणका क्रममा नेपाल प्रहरी वा सशस्त्र प्रहरीका कुनै पनि अधिकारीको मोबाइल नियन्त्रणमा लिइएको छैन। डीएसपी निशेष चापागाईं, डीएसपी विकास थापा वा अन्य सुरक्षाकर्मीमाथि तस्करीमा संलग्न रहेको आरोपमा कुनै छानबिन सुरु भएको दाबी पनि असत्य रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार तस्करीमा संलग्न समूहहरूले प्रशासन र सुरक्षा निकायमाथि बदनाम गर्ने उद्देश्यले सुनियोजित रूपमा भ्रामक सूचना फैलाएको हुन सक्ने आशंका गरिएको छ। गृहमन्त्रीको भ्रमणपछि तस्करी तथा गैरकानुनी गतिविधिमाथि थप कडाइ हुने भएकाले यस्ता अफवाह फैलाइएको दाबी गरिएको छ।
पुष्टि नभएका र आधारहीन समाचारले सुरक्षा निकाय, कर्मचारी तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता सूचना प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ।
गृहमन्त्री गुरुङले निरीक्षणका क्रममा स्थानीयवासीका गुनासा सुनेका थिए भने झापाका सुरक्षा निकायका प्रमुखहरूलाई सीमा क्षेत्रमा अपराध तथा तस्करी नियन्त्रण र नागरिकका समस्या समाधानमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए।
स्रोतका अनुसार गृहमन्त्रीको निर्देशनपछि जिल्ला प्रशासन र सुरक्षा संयन्त्र थप सक्रिय भएर काम गरिरहेका छन् भने प्रहरी अधिकारीहरूले कानुनी शासन स्थापना र तस्करी नियन्त्रणमा अझ कडाइका साथ लाग्ने प्रतिबद्धता जनाएका छन्।



























































