काठमाडौँ– नेपाली मनोरञ्जन उद्योगका बहुमुखी प्रतिभा सुरज खनालको जीवन तथा संघषको कहामी कुनै फिल्मभन्दा कम छैन । गुल्मीबाट काठमाडौँ झरेका उनी अलिहने नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेका छन् ।
“अतिभो” टेलिसिरियलबाट उदाएका उनी “ख्यालठट्टा”सम्म आइपुग्दा नेपाली टेलिभिजन इतिहासमा एउटा सशक्त व्यक्तित्व तथा कलाकारको रुपमा चम्किएका छन् ।
गुल्मी जिल्लाको एक सानो गाउँ र सामान्य परिवारमा जन्मिएका सुरजले सानैदेखि सफल कलाकार बन्ने देखेका थिए। र त्यही सपनाले उनलाई काठमाडौँसम्म डोहोर्यायो । विगत सम्झिदैँ उनी भन्छन्, “गुल्मीबाट काठमाडौं आउँदा कोही साथमा थिएन, सबैभन्दा ठूलो कुरा मैले आफ्नो सपना पूरा गर्न आफूलाई विश्वास गरेँ र निरन्तर मेहनत गरिरहेँ।”
देखेको सपना पूरा गर्न सजिलो कहाँ थ्यो र ! यद्यपि सुरजको अटल आत्मविश्वास र संघषको परिणाममा अन्ततः उनले “अतिभो” टेलिसिरियल अभिनय गर्ने मौका पाए । नेपाल टेलिभिजनमा २०१ भागसम्म प्रसारण भएको सो टेलिसिरियल लेखन, निर्देशन, र अभिनयमा खनालको पूर्ण समर्पणले यो कार्यक्रमलाई ग्रामीण समाजका यथार्थ समस्या प्रस्तुत गर्ने उत्कृष्ट माध्यम बनायो। हास्यव्यंग्यको शैलीमा सामाजिक चेतना दिन सफल यो सिरियलले दर्शकहरूको मन जित्यो र सुरजलाई नेपाली टेलिभिजनको एक बलियो स्तम्भको रूपमा चिनायो।
“ख्यालठट्टा”को सफलता
हाल सुरज खनालको नेतृत्वमा निर्माण भइरहेको “ख्यालठट्टा” टेलिसिरियलले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ कायम गरेको छ। हास्यरसले भरिएको यो कार्यक्रमले मनोरञ्जनमात्र नभई सामाजिक सन्देश पनि दिएको छ। उनी भन्छन्, “म हास्यव्यंग्यलाई मात्र मनोरञ्जनको साधन नभई समाज सुधारको माध्यम बनाउने पक्षमा पनि छु।”
सुरज खनाल संघर्षरत कलाकारहरूको लागि प्रेरणाको स्रोत बन्ने प्रयासमा छन्। उनी भन्छन्, “जब म संघर्षरत थिएँ, कसैले मलाई मौका दिएन। त्यसैले अहिले संघर्षरत कलाकारलाई मौका दिन पाउँदा मलाई ठूलो खुसी मिल्छ। नयाँ प्रतिभालाई अगाडि बढाउन म सधैं तत्पर छु।”
सिरियल निर्माणबाहेक सुरज खनालले थुप्रै म्युजिक भिडियो र सरकारी विज्ञापनहरू निर्देशन गरिसकेका छन्। उनका निर्देशनमा बनेका म्युजिक भिडियोहरूले दर्शक र श्रोताहरूलाई भिन्न अनुभव दिलाएका छन्। त्यस्तै, उनले सरकारी स्वास्थ्य र शिक्षा अभियानसम्बन्धी विज्ञापनहरू पनि निर्देशन गरेर सामाजिक परिवर्तनमा योगदान पुर्याएका छन्।
सुरज खनाल भन्छन्, “जीवन भनेको नै संघर्ष हो। संघर्ष गर्न छोड्नु हुँदैन। मेहनत, लगनशीलता, र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ। आफैंमाथि विश्वास गरेर अगाडि बढ्नुपर्छ।”
उनका आगामी योजना अझ प्रेरणादायक छन्। नेपाली मनोरञ्जन क्षेत्रलाई अझ सशक्त बनाउन र दर्शकलाई सोच्न बाध्य बनाउने कार्यक्रमहरू निर्माण गर्न उनी प्रतिबद्ध छन्। उनी भन्छन्, “मेरो उद्देश्य मनोरञ्जनसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। हरेक प्रोजेक्टले केही नयाँ सन्देश दिन सक्नुपर्छ।
सुरज खनालको यात्रा गुल्मीको सानो गाउँदेखि काठमाडौंसम्मको संघर्ष र मेहनतको कथा हो। स्वयंको परिश्रम र दृढतामा विश्वास गरेर उनले यो उचाइ हासिल गरेका छन्। नेपाली मनोरञ्जन उद्योगमा उनको योगदान र उनीबाट प्राप्त प्रेरणाले धेरैलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएको छ।
सुरज खनालको कथाले देखाउँछ, “संघर्षबाट सिकेर र मेहनत गरेर हरेक सपना पूरा गर्न सकिन्छ।”



























































