तनहुँ–  जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

“घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो”, उहाँले भन्नुभयो । सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गरेको उल्लेख गरे ।

सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आँफू र आफ्नो परिवारलाई पाँच जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिए । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उनले जनाए ।

पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।