हेटौंडा –बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त १० जना सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहिवार सामाजिक विकास मन्त्रालयमा आयोजित समारोहबीच प्रदेशकी सामाजिक सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायतले १० सदस्यलाई शपथ ग्रहण गराएकी हुन् ।
शपथ लिनेमा सदस्य रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) रहेका छन् । उनीहरुले नियुक्त भएको डेढ महिनापछि बिहीवार शपथ लिएका हुन् । उनीहरूलाई गत १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरिएको थियो।
यसैगरि, शपथ लिने अन्य ६ जनामा गत मंगलबार बसेको मन्त्री परिषद् बैठकले नियुक्त गरेको सदस्यहरू सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिएको युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए ।
परिषद्को सदस्य सचिवमा नुवाकोटका दिपक लामालाई २६ भदोमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो। विभागीय मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय रहे पनि प्रदेश खेलकुद विकास परिषद्सँग सम्बन्धित कानुन संशोधन नभएकाले परिषद्को पदाधिकारी र सदस्य नियुक्ति सम्बन्धि क्षेत्राधिकार सामाजिक विकास मन्त्रालयसँग छ।
२ जेठ २०८१ मा यसअघिका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय गठन गरेका थिए । प्रदेश खेलकुद विकास एन २०७५ को अध्यक्ष विभागीय मन्त्री हुने व्यवस्था छ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरुलाई परिषद्को सदस्यमा मनोनित गरिएको भन्दै यसले बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग मिल्ने बताए।
सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरुलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवद्वन र खेलाडीहरुको हितका लागि काम गर्न सुझाव दिइन् ।



























































