काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले छुट्टाछुट्टै भेट गरेका छन् । उनीहरु शुक्रवार प्रधानमन्त्री ओलीसंग भेट गर्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसंग भेट भएको जानकारी लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । भेटमा उनले प्रधानमन्त्री ओलीलाई राप्रपाले हरेक वर्ष पुस २७ गते मनाउदैँ आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएको बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटको फोटो राख्दै लिङ्देनले लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’
उनले भेटका क्रममा प्रधानमन्त्रीसँग विविध पक्षमा लामै कुराकानी भएको उल्लेख गरेका छन् । यसअघि लिङ्देन कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगेका थिए ।
लिङ्देनले प्रधानमन्त्रीसँग भेटेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष थापा पनि बालुवाटार पुगेका छन् । उनले आज प्रधानमन्त्रीसंग भेटवार्ता गरेको र सो क्रममा उनीहरुबीच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
सो अवसरमा राप्रपा नेपालका अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताइएको छ ।



























































