रौतहट– लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ ।
हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्याएको छ । हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए ।
फल्ने बेला भएको करिब सात सय केराको बो नष्ट गरेको उनको गुनासो छ । दोङले चन्द्रपुर–२ जुडिबेलामा जमिन भाडामा लिएर केराखेती गर्दै आएका छन् । केराखेतीको बीमा नहुँदा समस्या भएको उनको भनाइ छ । जुडिबेलामा उनीसहित हर्क घिसिङ, चमेली मायालगायतको बिघौंबिघा जमिनमा लगाएको केराबारी हात्तीले नष्ट गरेको छ ।
यसैगरी चन्द्रपुर–३ गैँडाटारमा पनि हात्तीले केराबारीमा विध्वंस मच्चाएको छ । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको दुई सय ५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए ।
उनका अनुसार खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति पुर्याएको छ ।