काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बुटवलमा पनि मुद्दा दायर हुने भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
आफूहरुले प्रतिवेदन बुझाएको पुष्टि गर्दै रुपन्देहीका एसपी रन्जितसिंह राठौरले भने, ‘हामीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौं । बाँकी काम अब उतैबाट हुन्छ ।’
उनका अनुसार, रुपन्देही प्रहरीले आज मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर आइतबार/सोमबारतिर रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख छ ।
लामिछाने बिहिवार राति मात्रै जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । परिवारको जिम्मा लगाएर छाडेको उनी आज जिल्ला अदालत उपस्थित हुन पोखराबाट काठमाडौँ आउदैँछन् ।