काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ महिला क्रिकेट विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमै सीमित रहेको छ ।
मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रनमा समेटिएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् । त्यसक्रममा उनले ४२ बल खेल्दा कुनै पनि बाउन्ड्री लगाउन सकिनन् । नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । अलिसा कुमारी यादवले ९ रन जोड्दा साना प्रवीनले ८ र सावित्री धामीले ७ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा अष्ट्रेलियाकी हस्ररत गिल, जुलियट मोट्रन र लिली बासिङ्गथवेटले समान २–२ विकेट लिए । यस्तै क्लोए आइन्सवर्थले १ विकेट हात पारिन् ।
यसअघि ब्याटिङतर्फ अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । त्यसक्रममा उनले ३४ बलमा ३चौका र ३ छक्का प्रहार गरिन् । यस्तै इलियनर लारोसाले ३९ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोडिन् भने हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले ८ रनको योगदान दिए ।
बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले ३ विकेट लिइन् । यस्तै सिमना केसीले २ तथा रिया शर्माले १ विकेट झारिन् । पहिलो पटक यू–१९ महिला विश्वकप खेलेको नेपालले तीन वटै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।



























































