काठमाडौँ – धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास भएको छ ।
शुक्रबार संविधान सभा सदस्य दिलमान पाख्रिन, धादिङ जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डन संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.५१ करोड नेपाली रुपैयाँ लागतमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण गर्न लागिएको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रहेको भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ ।
शिलान्यासपछि संविधान सभा सदस्य, खनियाबास गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । यो स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने उनीहरुको विश्वास छ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना रहेका छन् ।
साथै भारतले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ ।


























































