काठमाडौं- नेपाली कांग्रेसका संस्थापनइतर समूहका नेताहरूले पार्टीभित्रको विवाद अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन आफूहरूले निरन्तर प्रयास गरिरहेको बताएका छन्।


ADVERTISEMENT


कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको युवा भेलामा नेताहरूले पार्टीभित्र सबैलाई समेटेर एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन्।


ADVERTISEMENT

# # #


कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालाले विरोधी वा फरक मत राख्ने नेताहरूलाई गालीगलौज गर्नुको साटो मौन रहनु वा बेवास्ता गर्नु नै ठूलो जवाफ हुने धारणा राखे। पार्टीभित्र सबैलाई समेटेर एकताबद्ध बनाउनु मुख्य प्राथमिकता रहेको भन्दै उनले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

उनले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेसलाई कमजोर हुन नदिई देशको भविष्य कांग्रेसमै सुरक्षित राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा एकताबद्ध बनाउन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताए। तीनदिने राष्ट्रिय भेला कुनै व्यक्तिको पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनको भनाइ थियो।

कांग्रेस नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएको भन्दै संयम, धैर्य र उत्साहका साथ देशभर पुगेर आफ्ना कुरा राख्ने बताए। कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले संगठित भएको उनले उल्लेख गरे। विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको आरोपसमेत उनले लगाए।

त्यस्तै, कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई फुटाउन नभई थप बलियो, जागरुक, ठूलो र शक्तिशाली बनाउन तथा मुलुकको भविष्य हाँक्न सक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाइएको बताए।

बस्नेतले साउन २८ गतेसम्म गगन थापाले निकास नदिए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गरी नयाँ सुरुवात गर्न सक्ने चेतावनीसमेत दिएका छन्।