काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन्। प्रतिनिधिसभामा सोमबार मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार नेपाल सरकार पक्ष रहेको सन्धि तथा सम्झौताको संरक्षण र व्यवस्थापनका लागि कानुनी व्यवस्था रहेको छ। नेपाल सन्धि ऐन, २०४७ अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारका तर्फबाट सन्धि, वार्ता, कूटनीतिक सम्बन्ध तथा अन्तर्राष्ट्रिय तहमा सन्धिसम्बन्धी काम गर्दै आएको उनले बताएका छन्।
मन्त्री खनालले ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजको खोज, प्रमाणीकरण, डिजिटलीकरण र सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि जानकारी दिए। यसका लागि मन्त्रालयमा छुट्टै अभिलेख व्यवस्थापन शाखा गठन गरी काम अघि बढाइएको उनको भनाइ छ।
त्यस्तै, नेपालले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग गरेका पुराना सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन तथा नवीकरण क्रमशः गरिने मन्त्री खनालले बताएका छन्। सन्धि–सम्झौताको पुनरावलोकन गर्दा सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सहमति गर्दै नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखिने उनले स्पष्ट पारेका छन्।


























































