काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्न अहिलेको सत्तागठबन्धन बनेको भन्दै यसमा शंका–उपशंका गर्न जरुरी नरहेको बताएका हुन् । उनले सत्ता साझेदार दलबीच उच्च विश्वास र समझदारी रहेको जिकिर गरे ।
यसैगरी, उनले हालै जारी अध्यादेश मार्फत आएका नीतिगत र कानुनी सुधारले व्यवसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको भन्दै अध्यादेशहरु प्रक्रियाबाट पारित हुने दाबी गरे ।
उनले पार्टी फुटाउनका लागि यसअघि अध्यादेश ल्याउने दलले अध्यादेशको विरोध गर्नु उचित नहुने जिकिर गरे । कुनै पार्टी र कसैको पार्टी फुटाइदिने र जोडिदिने आफ्नो नभएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री ओलीले तराई मधेशमा रहेका आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताए ।
आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको उनले बताए ।
उहाले जयनगर–जनकपुर–कुर्था–विजयपुरा यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको भन्दै थप विजयपुरा–बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलमा ठूलो लगानी आवश्यक भएकाले त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माणकार्य अगाडि बढाउन सरकार सकारात्मक रहेको धारणा राखे ।
उनले समयमा नै आयोजनाहरु सम्पन्न गर्नका लागि विकासको ढाँचा, गति र संस्कृतिमा सुधार गर्न राष्ट्रिय योजना आयोग एवम् अन्य सरोकारवाला मन्त्रालयसँग परामर्श गरी आयोजना तर्जुमाको खाका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताए ।