काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले भनेका छन्,‘ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

कलिंगा कलेजमा बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीले सत्य तथ्यको माग गर्दै प्रदर्शन गरेका थिए । यद्यपि कलेजले न्याय गर्नुको सट्टा उल्टै प्रशासनले त्यसलाई दबाउन प्रदर्शनकारी विद्यार्थीहरुलाई कलेज निकाला गरेको उनीहरुको आरोप छ ।

यस्तो छ घटनाको वास्तविक परिवेश

आईआईटी कलेजमा अध्ययनरत विद्यार्थीहरुका अनुसार त्यहाँ करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत थिए । त्यसमध्ये मृतक प्रकृति लम्साल पनि एक थिइन् । लम्सालले केही समयअघि मात्रै कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।

आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ ।

शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । ‘प्रदर्शन बढ्दै गएपछि कलेज प्रशासनले केही नेपाली विद्यार्थीलाई बोलाएको थियो, त्यसपछि सबैलाई कलेज छाडेर जान भनेको छ’, एक विद्यार्थीले भने, ‘हामीलाई अहिले सस्पेन्ड गरिएको छ, हाम्रो केही कुरा सुनिएको छैन ।’

सामाजिक सञ्जालमा समेत प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि दमन गरिएको भिडियोहरु भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड पनि भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुर्व्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ ।

के भन्छ दिल्लीस्थित नेपाली दूतावास ?

केआईआईटीको घटना प्रकरणबारे समस्या समाधानको प्रयास भइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यस सम्बन्धमा दूतावास विश्वविद्यालयको सम्पर्कमा रहेको र केही समयमै दुवै (कलेज र दूतावास) ले विज्ञप्ति जारी गर्ने भन्ने बुझिएको छ ।