काठमाडौं भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले क्याम्पस खाली गर्न नेपाली विद्यार्थीलाई दिएको निर्देशन फिर्ता लिएको छ ।
नेपालकी इन्जिनियरिङ विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको विरोधमा प्रदर्शन गरेका नेपाली विद्यार्थीलाई विश्वविद्यालयले क्याम्पस खाली गर्न निर्देशन दिँदै नेपाली विद्यार्थीलाई ‘अनिश्चित काल’ घोषणा गरेको थियो । तर, आजै एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा फिर्ता लिएको छ भने नेपाली विद्यार्थीलाई सामान्य शैक्षिक गतिविधिमा फिर्किन आग्रह समेत गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ । यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ । यसैअनुसार शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको छ । शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उदेशयले यो कदम चालिएको थियो ।”
केआईआईटी विश्वविद्यालयको गल्र्स होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको घटनालाई विज्ञप्तिमा दुर्भाग्यपूर्ण र अप्रत्याशित बताइएको छ ।
के हो घटना ?
२० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल केआईआईटीमा कम्प्युटर साइन्समा बी–टेक गरिरहेकी थिइन् । उनी आइतबार साँझ उनी आफ्नो होस्टेलको कोठामा मृत फेला परेपछि विरोध प्रदर्शन भएको थियो। प्रारम्भिक अध्ययन अनुसार प्रकृतिले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले जनाएको छ ।
नेपालका आक्रोशित विद्यार्थीहरूले केआईआईटी क्याम्पस नजिकै सडक अवरुद्ध गरेका छन्। प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पुगेपछि विश्वविद्यालयका अधिकारीहरूले कुनै कारबाही नगरेको आरोप लगाउँदै उनीमाथि ब्याचमेटले दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
यसैबीच सोही विश्वविद्यालयमा रहेका उनका ब्याचमेट अद्विक श्रीवास्तव घटनामा मुछिएपछि प्रहरीले सोधपुछका लागि हिरासतमा लिइएको छ । प्रहरीले उनलाई सोधपुछ गरिरहेको र आत्महत्या गर्न दुरुत्साहनको धारा अन्तर्गत एफआईआर पनि दर्ता गरिएको बताएको छ। प्रहरी टोलीले होस्टेलको भ्रमण गरी शव पोस्टमार्टमको लागि क्यापिटल अस्पताल पठाएको इण्डियन एक्सप्रेसले जनाएको छ ।