काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूसँग आफू निरन्तर छलफलमा रहेको बताएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले औपचारिक रूपमा महाधिवेशन प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्। उनले पार्टीभित्र देखिएका असन्तुष्टिका विषयमा सबैलाई समेट्ने गरी आफू निरन्तर छलफलमा रहेको बताए।
सदस्यता वितरण तथा नवीकरणका विषयमा कसैलाई असन्तुष्टि, प्रश्न वा आशंका भए नयाँ समिति बनाएर वा खुला छलफलमार्फत समाधान खोज्न आफू तयार रहेको थापाले बताएका छन्।
उनले सम्पूर्ण निर्वाचन प्रक्रियामा सबैले निष्पक्षता महसुस गर्न पाउनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको पूर्वाग्रह वा अनियमितता हुन नहुने बताए।
कांग्रेसको सदस्यता प्रणाली डिजिटलाइजेसन गरिएकाले अब सदस्यता स्वतः नवीकरण हुँदै जाने र आगामी अधिवेशनमा अहिले देखिएका विवाद तथा झन्झट अन्त्य हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
थापाले सीमित समयभित्र धेरै काम सम्पन्न गर्नुपर्ने अवस्था रहेकाले अधिवेशनको अन्तिम मिति परिवर्तन नहुने गरी निर्वाचन समितिले अन्य तहका अधिवेशनको विस्तृत कार्यतालिका तयार गर्ने र सोहीअनुसार सबैले कार्यान्वयन गर्नुपर्ने बताएका छन्।





























































