काठमाडौं – नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गर्ने तयारीमा छ। वर्षौंअघि भूमिगत साइफरबाट सुरु भएको नेपाली हिप–हप अहिले भरिभराउ कन्सर्ट र लाखौं पटक हेराइसम्म पुगेको छ। यही क्रममा भारतीय सांगीतिक कार्यक्रम एमटीभी हसलको नेपाली संस्करणका रूपमा ‘हसल बाइ नेपहप’ नेपालमा आउने भएको छ।


ADVERTISEMENT


मलिन मिडियाले नेपालमा ल्याउन लागेको यो प्रिमियम र्‍याप सांगीतिक प्रतियोगिता कार्यक्रम नेपाली टेलिभिजनमार्फत प्रसारण हुनेछ। नेपाली हिप–हप संगीत, कलाकार र हिप–हप संस्कृतिलाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम तयार पारिएको हो।


ADVERTISEMENT

# # #


एक समय सीमित समूहमा मात्र लोकप्रिय रहेको हिप–हप अहिले नेपालका लोकप्रिय संगीत विधामध्ये एक बनेको छ। नेपाली र्‍याप गीतले अनलाइन माध्यममा लाखौं पटक हेराइ पाउनुका साथै नयाँ कलाकारले ठूलो संख्यामा दर्शक तथा श्रोता बनाउन थालेका छन्।

‘हसल बाइ नेपहप’ प्रतिस्पर्धा, मार्गदर्शन र प्रतिभा प्रस्तुत गर्ने सांगीतिक कार्यक्रमका रूपमा सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय शैलीको अवधारणामा आधारित भए पनि यसको मुख्य केन्द्रमा नेपाली आवाज, कथा, संस्कृति र सामाजिक सन्दर्भ रहनेछन्।

कार्यक्रमले स्थापित र्‍यापरदेखि नयाँ प्रतिभासम्मलाई राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने अवसर दिने लक्ष्य राखेको छ। प्रस्तुति, कथा र प्रतिस्पर्धालाई एकै ठाउँमा जोड्दै नेपाली हिप–हप क्षेत्रभित्र रहेका विविध प्रतिभालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

नेपाली कलाकारले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो प्रभाव बढाउँदै गइरहेका बेला ‘हसल बाइ नेपहप’लाई नेपाली हिप–हपको विकास र विस्तारमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।