काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै कोइरालाले आफुले पहल गरेर बनेको वर्तमान सरकाले लोकतन्त्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाउदै सरकारको कार्यशैलीमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् । संसद छलेर अध्यादेश ल्याउने सरकारको कामले लोकतन्त्र अप्ठेरोमा परेको उनले बताए ।
उनले हतार हतारमा अध्यादेश ल्याउनुपर्ने कारणको जवाफ सरकारले दिनुपर्ने धारणा राखे । त्यस्तै कोइरालाले दुई दलीय संयन्त्र बनाएर संयन्त्रले सरकारले चलाउने कुरा कम्युनिस्ट देशमा मात्र हुने भन्दै संयन्त्रप्रति समेत असन्तुष्टि जनाए ।
वडामा पनि संयन्त्र बनाएर चलाउने दुष्प्रयास भएको उल्लेख गर्दै कोइरालाले विस्तारै सरकारलाई एमालेकरण गर्न खोजिएको तर्क गरे । यसैगरि, घुस दिनेलाई समात्ने र घुस लिने छोड्ने काम भइरहेको भन्दै महान्याधिवक्ता रमेश बडालको कार्यशैलीमाथि पनि प्रश्न उठाए ।
कांग्रेसका सरकारका बाहिर रहेका नेताहरुले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता देखिएको उनको भनाई छ । कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै परिमार्जन गरेरमात्रै अघि बढाउनुपर्ने धारणा राखे ।