काठमाडौँ – सरकारले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाको न्यायपूर्ण र वैधानिक समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोकिदिने चेतावनी दिएको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपश्चात नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति निन्दा गर्दै उक्त चेतावनी दिएको हो । मन्त्रालयले घटनाको न्यायपूर्ण समाधान नगरेर अडिसा राज्यमा रहेका सबै विश्वविद्यालय र शैक्षिक संस्थामा अध्ययनका लागि दिँदै आएको एनओसी रोकिदिने चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

सम्बन्धित विश्वविद्यालयको नियम पालना गरी तोकिएको रकम बुझाएर अध्ययन गरिरहेका विद्यार्थीलाई गरिएको व्यवहार समेत निन्दनीय रहेको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिकोभएको व्यवहार निन्दनीय छ ।’

उक्त घटनाबाट विद्यार्थी र अभिभावकमा पर्न गएको मनोवैज्ञानिक प्रभाव भारतमा रहेका अन्य विद्याविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमा समेत पर्ने भन्दै मन्त्रालयले विद्यार्थीले निर्वाध पढ्न पाउने अवस्थाको सुनिश्चितताका लागि कुटनीति तवरबाट प्रयास भइरहेको जनाएको छ ।