काठमाडौँ – काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार २–२ को बराबरीमा रोकिएका छन् । आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा यी दुई टोलीले बराबरी खेलेका हुन् ।
खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले गोल गर्दै नेपाललाई बराबरीको स्कोरमा पुर्याइन् ।
त्यसपछि १६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुनः अग्रता दिलाएकी थिइन् । तर, ४०औं मिनेटमा सावित्राले गोल गरेसँगै खेल पहिलो हाफमा अघि पुनः २-२ को बराबरीमा पुग्यो ।
दोस्रो हाफमा भने दुवै टोलीले केही मौका पाए पनि गोलमा परिणत गर्न सकेनन् र खेल बराबरीमा रोकियो । नेपाल र म्यानमार च्याम्पियनसिपमा यसअघि नै फाइनलमा पुगिसकेका छन् । उपाधिका लागि दुई टोलीबीच बुधबार फाइनल खेल हुनेछ ।