काठमाडौं- प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले निरन्तर सदनमा विरोध जनाएका छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिएका हुन्।


ADVERTISEMENT

# # #


सांसद काउचाले आफुहरुले उठाएका बिषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको र सदनलाई विश्वस्त पार्ने प्रयास नभएको भन्दै आपत्ति जनाएकी छिन्। प्रतिपक्षले प्रश्न सोध्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी वा अपमान नभएको धारणा उनले राखेकी छिन् ।

मुलुकको हितमा चालिने सही कदममा प्रतिपक्ष साथमा रहने भन्दै उनले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने धारणा राखेकी छिन्।

त्यस्तै  एमाले सांसद नीता घतानीले सत्ता पक्षका सांसदहरूलाई कुनै गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गरेकी छिन् । सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल सधैँ स्थायी रहने उनले बताएकी छिन् । सांसद घतानीले प्रतिपक्ष सदन अवरुद्ध गर्ने पक्षमा नरहेको र जनताका समस्या उठाउँदै जिम्मेवार रूपमा सदन चलाउन चाहेको स्पष्ट पारेकी छिन्।

त्यस्तै अन्य बिपक्षी दलका सांसदहरुले पनि नेपालले भारतको सीमा मिचेको थियो भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ सच्याउनुपर्ने माग गरेका छन् ।