काठमाडौं – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै उपकुलपति प्रा।डा। भोला थापालाई ३३ बुँदे मागपत्र बुझाएको छ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयमा देखिएका शैक्षिक, प्रशासनिक तथा विद्यार्थी सेवासँग सम्बन्धित समस्या तत्काल समाधान गर्न माग गरिएको छ।
मागपत्रमा विशेषगरी परीक्षा प्रणालीलाई व्यवस्थित बनाउने, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने, छात्रवृत्तिको प्रभावकारी व्यवस्थापन गर्ने र शुल्कसम्बन्धी समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा विद्यार्थीले सहज रूपमा सेवा पाउने व्यवस्था गर्नुपर्ने, प्रशासनिक प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्नुपर्ने माग पनि अनेरास्ववियुले अघि सारेको छ।
विश्वविद्यालयका भौतिक पूर्वाधारको विकास तथा स्तरोन्नति गर्दै अध्ययनका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा समेत संगठनले जोड दिएको छ। पुस्तकालय, कक्षाकोठा, प्रयोगशाला लगायत विद्यार्थीको प्रत्यक्ष सिकाइसँग जोडिएका पूर्वाधारलाई समयअनुकूल बनाउनुपर्ने माग गरिएको छ।
अनेरास्ववियुले बदलिँदो समय र प्रविधिअनुसार त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रणालीमा सुधार आवश्यक रहेको जनाएको छ। विश्वविद्यालयका सेवा तथा प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र छिटोछरितो बनाउनुपर्ने उसको माग छ।
विद्यार्थी संगठनले आफूहरूले उठाएका ३३ वटै मागलाई विश्वविद्यालय प्रशासनले गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान आग्रह गरेको छ। विद्यार्थीका समस्या समाधानसँगै विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारमा तत्काल पहल गर्न पनि अनेरास्ववियुले उपकुलपति थापाको ध्यानाकर्षण गराएको छ।



























































