काठमाडौँ– नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरु सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनले जनाए ।
संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए ।
उनले अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधान समेत रहेको धारणा राखे । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले शसक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरुलाई उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताए। उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे ।
त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने जानकारी दिए । बैठकमा जनतासंग माओवादी अभियानको प्रारम्भीक समिक्षा भएको र झापा देखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए । हाललाई स्थगीत गरिएको अभियान अर्को महिना पुन सुरु गर्ने माओवादीले जनाएको छ ।