काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रधानमन्त्री उपस्थित नभएकोप्रति गुनासो व्यक्त गरेका छन् ।
प्रचण्डले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेको भन्दै असन्तुष्टि पोखेका छन् । ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’
प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले काठमाडौंमा छैनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा त्यता पुगेकाले संसदमा अनुपस्थित भएका हुन् । अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री अस्वस्थ रहेको बताइएको थियो ।
यस्तै, प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि आक्रोश व्यक्त गरे । उनले भने, ‘अर्को प्रतिपक्षी दलको नेतालाई निलम्बन गरिएको छ । हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र बलियो हुने हो । ठाउँ(ठाउँ घुमाएर हुर्मत लिँदा लोकतन्त्रलाई मद्दत गर्दैन ।’