– गगन थापा


ADVERTISEMENT


देशमा मलाई पुरानै व्यवस्था चाहिन्छ भन्ने स्वतन्त्रताको प्रयोग होस् केही छैन । म स्पेनमा देख्छु ‘नट माई किंग’ भन्ने आन्दोलन चलिरहेको देख्छु, बेलायतमा त्यस्तै आन्दोलन चलिरहेको छ । राजतन्त्र भएको देशमा राजा चाहिँदैन, राजतन्त्र नभएको ठाउँमा राजा चाहिन्छ भन्ने वर्षौंसम्म पनि चलिरहन्छ । त्यतातिर मेरो टिप्पणी केही पनि छैन । खाली युवा साथीहरुलाई मेरो आग्रह छ, खासगरी म तन्नेरी साथीहरुलाई म आग्रह गर्न चाहन्छु, मैँले २०४८ सालमा एसएलसी दिएको हो । २०४६ सालको आन्दोलनमा सहभागी भएको हो, कक्षा ९ मा पढ्दै गर्दा । मैँले नेपालले दह्रोसँग खुट्टा उभिन थालेको देखेको त्यही बेलामा हो । हाम्रा विद्यालय कस्ता थिए, म त काठमाडौँमा जन्मेको अझ । सडक कस्ता थिए, बाआमाले सुनाएका कथाहरु कस्ता थिए मलाई थाहा छ । राजनीतिक दल आए, सरकार बन्यो, उद्योग धन्दाहरु खुल्न थाले, धेरै ठूलो परिवर्तन छोटो समयमा आयो ।


ADVERTISEMENT

# # #


तर, हामीले गल्ती गर्यौं, दलहरुभित्रका अनावश्यक कुराहरुमा हामी चुक्यौँ, सरकार चलाउन सकेनौँ, मध्यावधिमा गयौँ । त्यही बेलामा नेपाल एउटा ठूलो यद्धमा परिणत भयो । त्यो युद्ध नेपालका लागि आवश्यक थियो, कसैको दाबी होला । आवश्यक थिएन भन्ने मेरो आफ्नै कुरा छ । तर, जे होस् एउटा यस्तो परिस्थिति आयो, नेपालभित्रै एउटा ठाउँबाट अर्को ठाउँमा जानका लागि भिसा चाहिन्थ्यो । कहीँ जान पाइन्छ कि पाइँदैन, थाहा थिएन । फेरि एउटा यस्तो अवस्था आयो, म देशलाई स्वर्ग बनाउँछु भनेर (राजाले) शासन सत्ता आफ्नो हातमा लिइसकेपछि रातारात कुरा गर्दागर्दै हाम्रो फोन गयो, हाम्रो इन्टरनेट गयो, सडकमा हिंड्दाहिंड्दै हामीलाई उठाएर लिएर जाने भइयो, हामी थुनिने भयौँ । यी सबै कुरा हामीले अनुभव गरेर आयौँ । हामी कति साथीका बाआमाहरु मारिए, हामी ठूलो युद्धबाट बाहिर निस्केर आयौँ ।

म तन्नेरी साथीहरुलाई भन्न चाहन्छु, अहिलेको जस्तो इलाम घुम्न जाउँ, यहाँ, त्यहाँ ट्रेक जाउँ भन्ने अवस्था थिएन । त्यो हामी सोच्न पनि सक्दैनथ्यौँ । किनकी प्रत्यके दिन मान्छे मारिएका हुन्थे । यसको अर्थ त्यसबेला जे थियो, अहिले त्यो भन्दा राम्रो छ भन्ने होइन । मेरो अनुभवको आधारमा म अपिल गर्दछु, २०५०–६० सम्मको दशक युद्ध, हिंसा यसैमा गयो हाम्रो । २०६०–७० सम्मको दशक यही संसदमा राजनीतिक संक्रमणको व्यवस्थापन भयो ।

२०७०–८० को दशक यो संविधानको कार्यान्वयनमा गयो । बल्ल अहिले हाम्रो स्थानीय सरकार आएका छन्, हामी बल्ल विकासको सुरुवा गर्दैछौँ । सरकारमा को रहला, नरहला छोडिदिउँ, २०८०–९० को दशक त विकासको दशक बनाउने होला, समुन्नतिको दशक बनाउने होला, अहिले सरकारमा बस्ने र प्रतिपक्षीमा बस्नेबीच २०८४ को चुनाव आउँदै गर्दा मेरो पार्टी सरकारमा रहँदै गर्दा मैँले कति रोजगारी सिर्जना गरेँ, कति विदेशी लगानी लिएर आएँ, मैँले कति नयाँ युवाहरुलाई अवसर दिलाएँ, भन्ने दाबी लिएर जाने होला ।

नयाँ आउनेहरुले वा प्रतिपक्षमा रहने साथीहरुले हामी त्यो भन्दा राम्रो गर्छौं, हामीसँग त्यो भन्दा राम्रो विकल्पहरु छन्, योजना यो यो छन् भनेर जाने होला । हाम्रा बीचमा यी कुरामा प्रतिस्पर्धा गर्ने होला । तर, २०८० र ९० को यो दशकलाई फेरि अर्को राजनीतिक उतारचढावको दशक नबनाऔँ ।

मैँले २०४८ सालमा एसएलसी दिएको मान्छेले, १७–१८ वर्षको उमेरमा विद्यार्थी राजनीतिबाटै सुरु गर्दै देश घुमेको छु, हेरेको छु, हाम्रो बिसौँ वर्ष यो बीचमा भयो । यी बिसौँ वर्षमा यी सबै कुराका बाबजुत पनि धेरै कुुरा भए । तर, यो बिसौँ वर्ष नभएको भए पनि अरु धेरै कुुराहरु हुन्थे होलान् । त्यसैले मेरो तन्नेरी साथीहरुलाई मेरो आग्र छ, तपाईंहरु डेटामा विश्वास गर्नुहुन्छ, तपाईंहरु नौजवान हुनुहुन्छ, पढ्नलेख्न सक्नुहुन्छ ।

तपाईंहरुलाई कसैले यहाँ आएर उभिएर भनिदिन्छ, उहिले नेपालले धान बेचिदिन्थ्यो भनिदिन्छ, एक पल्ट तथ्यांक पल्टाएर हेर्नुहोस् । उहिले नेपाल स्वर्ग थियो भनिदिन्छ, तथ्यांक पल्टाएर हेर्नुहोस् । उहिले नेपाल असाध्यै राम्रो थियो, जताततै खानेपानी, पूर्वाधार, बिजुली, सबै थियो भनिदिन्छ । एक पटक तथ्यांक पल्टाएर हेरौँ । यो भन्दै गर्दा अहिले असाध्यै राम्रो छ भन्ने होइन । यो भन्दा धेरै राम्रो गर्नुपर्ने छ र सकिन्छ ।

त्यसैले मेरो ती नौजवान साथीहरुलाई आग्रह छ, यो बेलामा हाम्रा वरिपरि जति पनि अवसरहरु आएका छन्, यी अवसरहरुलाई हामीले समात्नुपर्ने छ । त्यसका लागि अहिले हामीसँग भएको खुला वातावरणको प्रयोग गर्नुपर्नेछ । यो अघिल्लो ३० वर्षमा किन भएन, अहिलेको ३० वर्षमा किन भयो भन्ने कुराको जम्मा एउटा कारण भनेको स्वतन्त्रता हो । छनोटको स्वतन्त्रता, गरेको सरकारले होइन, गरेको नागरिकले नै हो । लोकतन्त्रको सुन्दर कुरा भनेको नागरिक यसमा सबैभन्दा बलियो हुने हो । त्यो नागरिकको कुरा सुन्नका लागि ढिलो चाँडो सबै बाध्य हुन्छ । जो सुन्दैन, त्यो जान्छ ।

दल बदल्ने ? बदले हुन्छ । दलभित्रको नेता बदल्ने काम त हामी नै गरिहाल्छौँ नि ! बदल्नो बेला भइसक्यो । हामी बदल्छौँ । कोसिस पनि गरेको हो । मेरो बलबुँताले भ्याएको भए त म अहिले यहाँ दलको नेता भएर बसिरहेको हुन्थेँ होला । हात उठाएर बसेको हो र ! यहाँभित्र प्रतिस्पर्धा गरिरहेका छौँ । यहाँभित्र बलल्ने कोसिस गरिरहेका छौँ । हाम्रा संस्थाहरुलाई ठीक बनाउने कोसिस गरिरहेका छौँ ।

त्यसैले म ती सबै साथीहरुलाई अपिल गर्न चाहन्छु, वैदेशिक रोजगारीमा रहेका साथीहरुलाई म अपिल गर्न चाहन्छु, सडकमा आउनुभएका साथीहरुलाई अपिल गर्न चाहन्छु । खासगरी नौजवान साथीहरुलाई अपिल गर्न चाहन्छु, कि यो बेलामा तपाईंको असन्तुष्टि, तपाईंको आक्रोश हामीले बुझ्नै पर्छ । त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ । त्यसलाई हामीले सम्हालेर लिएर जानै पर्छ । त्यसको उपाय हामीले खोज्नै पर्छ ।

अस्ति मैँले प्रविधि क्षेत्रमा राम्रो गरिरहेकामैँले केही नौजवान साथीहरु भटेँ । पोडकास्टमा केही साथीहरुलाई सुनेँ, पहाडका युवा साथीहरुसँग अन्तरक्रिया गर्ने मौका पाएँ, चितवनमा युवा साथीहरुलाई भेटेँ । यतिधेरै नयाँ कुरा गर्ने अवसर बनिरहेको छ, सरकारमा बस्ने हामीहरुले पनि यी नयाँ अवसरलाई वृद्धि गर्दै जाने कुराको सन्दर्भमै काम गर्नुपर्ने छ ।

म प्रतिपक्षीलाई पनि आग्रह गर्न चाहन्छु, केही कुरामा हाम्रा सहमति हुनै पर्छ, यो संविधान जोगाउने कुरामा, संवैधानिक संस्थाहरु जोगाउने कुरामा, यसलाई ठीक ढंगले लिएर जाने कुरामा हामी सबैबीच समझदारी हुनैपर्छ । प्रश्न गरौँ, आलोचना गरौँ तर घृणा फैलाउने काम नगरौँ । यसरी पनि घृणा नफैलाऔँ कुनै व्यक्तिका बारेमा कि कुनै दिन त्यो घृणाले हामी सबैलाई लिएर जाओस् ।

त्यसैले यो संसदभित्र, संसद बाहिर हामीबीच प्रतिस्पर्धा पनि सभ्य ढंगले गरौँ । बहस पनि सुसूचित गरौँ । हाम्रा बीचमा भएका गल्ती कमजोरीलाई स्वीकार र समीक्षा गरौँ । सरकारले पनि प्रतिपक्षका सही कुरा सम्बोधा गर्दै जाने कुराको अभ्यास गरौँ । यति गर्यौं भने मलाई के विश्वास छ भने जो साथीहरु यो परिवर्तनका पक्षमा हुुनुहुन्छ, हिजो परिवर्तनका लागि हामीसँग रहनुभो, उहाँहरुको परिवारका सदस्यहरु हुनुहुन्छ, थोरै समय लाग्ला, हाम्रो संवादबाट, हाम्रो सत्कार्यबाट हामीसँगै बाँधिने कुरा बनाउन सक्छौँ भन्ने कुराको मलाई विश्वास छ ।

यसका लागि नेपाली काँग्रेस पार्टीको तर्फबाट सम्पूर्ण रुपमा, यो संविधान जोगाउने कुरामा, कुनै पनि खालको प्रतिगामी शक्तिलाई यहाँभित्र वा कुनै पनि खालको आफ्ना कुरा राख्ने कुरामा हामी सबैको स्वतन्त्रता होस् भन्ने चाहन्छौँ । तर, यहाँभित्र कुनै पनि षड्यन्त्र गर्ने कुराको खिलापमा नेकपा एमालेसँग, नेकपा माओवादीसँग, अरु दलहरुसँग दृढ भएर उभिने कुराको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

(नेपाली काँग्रेस महामन्त्री थापाले मंगलबार प्रतिनिधिसभामा राखेको विचारमा आधारित)