काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले लोकतान्त्रीक प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको जिकिर गरे । प्रधानमन्त्री ओलीले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । उनले देशलाई पछाडि फर्काउने नभइ प्राप्त उपलव्धीहरुको रक्षा गर्दै संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । देशको मुहार फेर्नकै लागि आफु प्रतिवद्ध रहेको भन्दै जनताको कुरा बाहेक अरु केही कुरामा बादविवाद गर्न आफुलाई रुची नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । उनले कोशी प्रदेशमा रहेका प्रचुर सम्भावनाका क्षेत्रलाई प्रदेश सरकारले ध्यान दिनुपर्ने जिकिर गरे । प्रदेश सरकारलाई समस्या परेका बेला संघीय सरकार सदैव साथमा रहेको उनको भनाइ छ ।