काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्नमन्त्री बद्री पाण्डेले नेपाल र इन्डोनेशियायाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको भन्दै इन्डोनेशियासंग पनि द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए ।
उनले नेपाल एयरलाईन्सलाई बलियो बनाउनुको विकल्प नरहेको भन्दै यसका लागि थप जहाज खरिद गर्नुपर्ने धारणा राखे । मन्त्री पाण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयकहरु मन्त्रिपरिषद्बाट स्वीकृत भई आगामी चैत्र १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुने समेत बताए ।
गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रीपरिषद्बाट कार्ययोजना कार्ययोजना स्वीकृत गराई लागू गरिएको उनले जानकारी दिए ।
बैठकमा सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगमका प्रमुख नियुक्तिका विषयमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व पर्यटनमन्त्री प्रेम आलेमाथि समिति बनाएर छानविन गरिनुपर्ने बताए ।
त्यस्तै अन्य सदस्यहरुले विमान स्थलको पूर्वाधार विकासमा लक्ष्य अनुरुप काम हुन नसकेको बताएका थिए । समितिले जवाफदेहिता कायम गर्ने गरी काम गर्न र भइरहेका कामहरूलाई अझै प्रभावकारी बनाउन पर्यटन मन्त्रालयलाई निर्देश गरेको छ ।