काठमाडौं- १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले ग्राहक आकर्षित गर्न विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकहरूले तुलनात्मक रूपमा सस्तो ब्याजदर, लामो कर्जा अवधि, सेवा शुल्कमा छुट तथा विद्युतीय सवारीसाधन (ईभी) खरिदमा विशेष सुविधा उपलब्ध गराएका छन्।
नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका १३ वटा वाणिज्य बैंक सहभागी छन्। ती बैंकहरूले ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएका छन्। बैंकअनुसार ब्याजदरको प्रकृति, कर्जा अवधि, डाउन पेमेन्ट र सेवा शुल्कमा भने फरक रहेको छ।
अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। बैंकले ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ। ईभी खरिद गर्ने ग्राहकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाउनेछन्।
नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। नाडा अटो शो अवधिभर यही ब्याजदरमा कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने कर्जाको अवधि ७ वर्षसम्म रहनेछ भने अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। बैंकले सेवा शुल्क पनि सामान्य ०.७५ प्रतिशतबाट घटाएर अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरेको छ।
नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा दिने योजना ल्याएको छ। योजनाअनुसार २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गरेपछि बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ।
एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ। अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि दिएको हो। ईभी खरिदमा सवारी मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले ईभीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। ७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्ष ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ। त्यसपछिका ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरूले ल्याएका यस्ता योजनाले सवारी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न बैंकको ब्याजदर, कर्जा अवधि, सेवा शुल्क र अन्य सुविधाबीच तुलना गरेर आफूलाई उपयुक्त कर्जा योजना छनोट गर्ने अवसर दिएको छ।































































