काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। साथै बैंकले ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउँदै आएको बैंकले यसअघि पनि विभिन्न प्राकृतिक प्रकोपका समयमा सरकार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै आएको जनाएको छ।
बैंकले आगामी दिनमा समेत प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।































































