काठमाडौँ – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै ५८ रन मात्र बनायो । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् ।
त्यस्तै प्रतियोगिता अन्तर्गत रुपन्देहीको एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ । जितको लागि २ सय २४ रनको लक्ष्य पछ्याएको एपिएफले ४१ दशमलव ५ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।
त्यस्तै रुपन्देहीको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल टाइ भएको छ । जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी १ बल बाकी छँदा अल आउट हुँदै २ सय ४६ रन समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ४६ रनको योगफल खडा गर्यो । खेल टाइ भएपछि सुपर ओभर खेलाइएको थियो । सुपर ओभरमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई पराजित गर्यो ।