काठमाडौँ– गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन् ।
बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र कुनै विकल्प नरहेको भन्दै लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका हुन् ।
उनले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोशि भइरहेको धारणा व्यक्त गरे । लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने उनको राय छ । मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने जनाए ।
कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै गृहमन्त्री लेखकले जुनसुकै बेला जस्तोसुकै विपत आउन सक्ने भएकाले विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्नुपर्नेमा जोड दिए ।